नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संगठन (ए.आई.एन.) मुलुकभरका विभिन्न स्थानहरूमा बाढी तथा पहिरो आक्रान्त व्यक्ति हरूप्रति समवेदना प्रकट गर्दै दिवंगत हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुःखद घडीमा हामी हाम्रा स्थानीय साझेदार संस्थाहरूमार्फत स्थानीय स्तरमा निरन्तर उद्धार तथा सहायता उपलब्ध गराउने कार्यमा संलग्न रहेको व्यहोरा अवगत गराउन चाहन्छौँ ।
यसै क्रममा, हाम्रा सदस्य संस्थाहरूका तर्फबाट संकलित नगद रकम रू ५००,०००|- (पाँच लाख रूपैंया) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि मिति २०७१ भाद्र २० गतेका दिन सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालाज्यूलाई हस्तान्तरण गरिएको जानकारी गराउन चाहन्छौँ। यसबाहेक हाम्रा सदस्य संस्थाले प्रत्यक्षरूपमा विभिन्न जिल्लामा आफ्ना साझेदार संस्थामार्फत हालसम्म जम्मा रू। १२,७९,१३,३३२।०० (बाह्र करोड उनासी लाख तेह्र हजार तीन सय बत्तीस रूपैयाँ) बराबरको लत्ताकपडा, खानेकुरा, सरसफाइ तथा औषधिफगायतका सामग्री सहयोग उपलब्ध गराएका छन् । यस प्रकारका मानवीय सहायता निरन्तर बढिरहेको पनि जानकारी गराउँछौं। सहायता वितरणमा दोहोरोपन नआओस् भनी यी सबै सहायता सामग्री स्थानीय दैवी प्रकोप समन्वय समितिकै समन्वयमा उपलब्ध गराइएको समेत जानकारी गराउँदछौं।
यी तत्काल आवश्यक मानवीय सहायताबाहेक हाम्रा सदस्य संस्थाहरूले संचालन गर्ने गरेका परियोजनाअन्तर्गतका नियमित क्रियाकलापहरूबाट समेत यस विपदबाट आक्रान्त जनसमुदायले दीर्घकालीनरूपमा लाभ पुर्याउन सकिने अवस्था पनि छँदैछ। पीडितहरूको पुनर्स्थापना तथा जीविकोपार्जनका लागि आवश्यक क्रियाकलापमा संलग्न रहन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गर्दै एआईएनका सदस्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू पनि त्यसका लागि तत्पर रहेको जानकारी गराउँदछौँ ।
साथै पीडितहरूलाई मानवीय सहयोग उपलब्ध गराउनुहुने सम्पूर्ण उदारमना दाताहरू र प्रकोपग्रस्त क्षेत्रमा अहोरात्र खटिने हाम्रा स्थानीय तहमा कार्यरत कर्मचारीहरू एवं सहयोगी साथीहरू सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं।
सहायतासम्बन्धी विस्तृत जानकारी यस संगठनको सचिवालय फोन नं. ०१ ४४६०५०३ बाट प्राप्त गर्न सकिनेछ। दीपक राज सापकोटा